भैरहवा । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रम बुधबारदेखि रुपन्देहीको सियारी गाउँपालिकामा शुरु भएको छ । गाउँपालिका अध्यक्ष अयोध्या थारुको स-परिवारको स्वास्थ्य बीमा गरि कार्यक्रम शुरु गरिएको हो ।
अध्यक्ष थारुले जनताको स्वास्थ्य सुरक्षाको केहि हदसम्म भएपनि सुनिश्चित गर्ने भएकाले हरेक नागरिकले स्वास्थ्य बिमा गर्नु अनिवार्य रहेको बताए ।
स्वास्थ्य भन्दा ठुलो अरु केहि हुन नसक्ने र स्वस्थ व्यक्तिले मात्र समाजको असल नेतृत्व दिन सक्ने भएको बताउदै गुणस्तरीय स्वास्थ्य सेवाको पहुच र उपभोग्य सुधार ल्याई बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्धेश्यका साथ नेपाल सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम आफ्नो परिवारका सम्पुर्ण सदस्यको बीमा गरि शुरु गरिएको हो ।
उनले स्वास्थ्य बीमा गरिसकेपछि नेपाल सरकारले तोकेको सरकारी तथा निजि अस्पतालहरुमा १ लाख रुपैया सम्मको निशुल्क स्वास्थ्य उपचारको सुबिधा पाउने संघीय सरकारको नीति भएको हुँदा घर घरमा आउने स्वास्थ्य बीमा अभिकर्ताहरुमार्फत ढुक्क भई बीमा गराउन अनुरोध गरेका छन् ।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले नेपालको संबिधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको र सोहि हकलाई कार्यान्वयन गर्न संविधानको धारा ५१ (ज) १५ मा राज्यको नीति अन्तर्गत नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन स्वास्थ्य बीमा अभिकर्ता मार्फत स्वास्थ्य बीमा कार्यक्रम घरघरमा आएको अध्यक्ष थारुले बताए ।
स्वास्थ्य बीमा गर्दा स्वास्थ्य बिमा कार्यक्रमले घरका ५ जना सम्मको परिवारले १ लाख रुपैयासम्मको स्वास्थ्य सेवाप्राप्त गर्ने,५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु २० हजार सुबिधा थैलीमा थपिने र यसको अधिकतम सीमा रु २ लाख सम्मको हुनेछ, प्रत्येक ज्येष्ठ नागरिकले एक लाख सम्मको औषधि उपचार सुबिधा प्राप्त गर्न सक्ने छन् ।
एक घरको ५ जना सदस्य सम्मको परिवारले वार्षिक रु ३ हजार ५ सयमा स्वास्थ्य बिमा गर्न पाइने र ५ जनाभन्दा बढी सदस्य भएमा ती ५ सदस्य बाहेक प्रति सदस्य ७ सय थप रकम लाग्नेछ ।