कावासोती । कावासोती नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालनमा रहेका मासु पसल तथा फ्रेश हाउसमा पशु वध नगर्न व्यवसायीलाई निर्देशन दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै मासु पसल तथा फ्रेश हाउस अनिवार्य रूपमा दर्ता गरी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो।
नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ असोज २७ गते जारी गरेको सूचनामा राँगा, बङ्गुर, खसी, कुखुरा, माछालगायत ताजा मासु बिक्री–वितरण गर्ने व्यवसायलाई व्यवस्थित, स्वच्छ र मर्यादित बनाउन यस्तो निर्देशन दिइएको उल्लेख छ।
सूचनाअनुसार मासु तथा मासुजन्य पदार्थको शुद्धता, स्वच्छता र गुणस्तर कायम राख्दै जनस्वास्थ्यमा पर्न सक्ने सम्भावित असर न्यूनीकरण गर्नु नगरपालिकाको उद्देश्य रहेको छ। यसका लागि मासु पसल तथा फ्रेश हाउस सञ्चालन गर्न इच्छुक व्यवसायीले तोकिएको न्यूनतम मापदण्ड पूरा गरी अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।
नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै मासु पसल तथा फ्रेश हाउसमा पशु वध नगर्न र नगराउनसमेत निर्देशन दिएको छ।
त्यस्तै, स्वच्छ र सुरक्षित मासु तथा मासुजन्य पदार्थ बिक्री–वितरण गर्न तथा व्यवसाय सञ्चालनका क्रममा प्रचलित कानुनी व्यवस्था र नगरपालिकाले तोकेका मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरिएको छ।
कावासोती नगरपालिकाको मासु व्यवसायसम्बन्धी मापदण्ड, २०८१ अनुसार न्यूनतम मापदण्ड पूरा नगरी अवैध रूपमा व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेद्वारा हस्ताक्षरित सूचनामार्फत नगरपालिकाले सबै मासु व्यवसायीलाई नियमको पालना गरी उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउन आग्रह गरेको छ।