राजु चापागाईं, देवचुली, ४ फाल्गुण। देवचुली नगरपालिकाका वडाहरुमा राष्ट्रिय परिचय पत्र निर्माणको कार्यहरु सुरु भएको छ । राष्ट्रिय परिचय पत्र निर्माणको लागि अन्य जिल्लाको नागरिकता हुनेहरूलाई बसाईसराई प्रमाणित हुनुपर्ने भएकोले २०/३० वर्ष अघिबाट बसोबास गरिरहेकाहरुलाई सम्बन्धित वडाहरुले बसाईसराई प्रमाणित सिफारिस गरिरहेका छ्न।देवचुली नगरपालिकाले भने समयमै राष्ट्रिय परिचयपत्र निर्माणको प्रायोजनका लागि आवश्यक बसाईसराई प्रमाणित सिफारिसको बेलैमा ध्यान नदिएको पाईएको छ । देवचुली नगरपालिकाको कुनै वडामा बसाईसराई प्रमाणित सिफारिस नि:शुल्क छ भने केही वडामा फरक फरक शुल्क लिईएको स्थानीयले गुनासो गरेका छ्न । राष्ट्रिय परिचय पत्र निर्माण प्रायोजनका लागि देवचुली वडा न ९,१०,१२ र १३ मा सिफारिस नि:शुल्क गरिएको छ भने देवचुली वडा न ४ मा रु ३००/-, देवचुली वडा न ११ र १४ मा रु ५००/- सिफारिस शुल्क लिईदै आएको पाईएको हो । धेरै पहिलादेखि बसोबास गर्दै आएको बसाईसराईको कागज साविक स्थानीय निकायमै बुझाएको तर परिचयपत्र निर्माणका लागि अहिले सिफारिस शुल्क तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए । राष्ट्रिय परिचयपत्र निर्माणको प्रायोजनका लागि बसाईसराई प्रमाणित सिफारिसको शुल्क लिन नहुने पक्षमा रहेको देवचुली नगरपालिका वडा न १२ का अध्यक्ष दिनेश भुसालले बताए । नागरिकहरु आफै कार्यालयमा सेवा लिन नभई राज्यबाट नागरिकको परिचयपत्र बनाउने संचालन भएको र यसका लागि सिफारिस शुल्क लिनु भनेको राज्यको अभियानलाई असहयोग हुने देखिएकोले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई शुल्क लिन नहुने भनाई राखेको भुसालले बताए । नगरपालिकाले सिफारिसको बारेमा प्रष्ट नगरेकोले आफ्नो वडामा बसाईसराई प्रमाणित सिफारिसको प्रमाणित सिफारिस शिर्षकबाट रु ५००/- शुल्क लिईएको देवचुली वडा न ११ का अध्यक्ष रमेश ठाडाले बताए । नगरपालिकाले सम्पुर्ण वडामा एकरुपता नगरी दिदा विवादित भएको ठाडाले बताए ।देवचुली नगरपालिका वडा न १४ मा राष्ट्रिय परिचयपत्र निर्माण प्रयोजनका लागि ३ जनाको मात्र बसाईसराई प्रमाणित गरिएको र समन्वयको कमीले सिफारिस शुल्क लिईएको वडाध्यक्ष हेमराज दवाडीले बताए । आजबाट नै बसाईसराई प्रमाणित सिफारिस नि:शुल्क गरिने र पहिला लिईएको शुल्क फिर्ता गर्ने दवाडीले बताए । नगरपालिकाले जुनसुकै प्रयोजनका लागि भए पनि सिफारिस शुल्क लिनु नै पर्ने देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए । वडाले शुल्क लिए नलिएको आफुलाई थाहा नभएको साथै कसैलाई नलिन नभनेको र सिफारिसको न्युनतम शुल्क लिनुपर्ने सिग्देलले बताए ।
देवचुलीकाे दाेहाेराे नियम :बसाइसराई सिफारिसमा कतै शुल्क ,कतै नि:शुल्क