चोरमारा, २५ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ का संघिय संसद तिलक महतले वर्तमानको सरकारको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने बताउनु भएको छ । आज नेकपा मध्यविन्दु–१३ को आयोजनामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रलाई सम्बोधन गर्दै उहाँले विगतमा विग्रिएको व्यवस्थालाई सुधार गर्दै नेकपा नेतृत्वको वर्तमान सरकारले बिकासको जग बसालेको भन्दै उहाँले यही सरकारको नेतृत्वमा समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुने बताउनुभएको हो । देशमा नै रोजगारी सृजना गर्ने, देशको आर्थिक विकास गर्ने सरकारको प्राथमिकतामा रहेको भन्दै उहाँले अहिलेको सरकारले त्यसको लागि काम गरिरहेको बताउनुभयो । देश भित्र नै खानीहरुको सम्भावना अध्ययन यसको उत्खनन् तथा नयाँ नयाँ ठुलो आयोजना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । धौवादीको फलाम खानि, नवलपुरको नमुना सदरमुकाम, पूर्वपश्चिम राजमार्गको बिस्तारको काम नवलपुर जिल्लामा नै सञ्चालनमा रहेको भन्दै उहाँले लामो समय अगाडी बढ्न नसकेको कालिगण्डकी करिडोर निर्माणको काम अहिले तिव्रता दिएको बताउनुभयो । उहाँले विगतमा प्रधानमन्त्रीले रेलमार्ग निर्माणको कुरा गर्दा कागजको खोस्टो बनाउनेहरु सरकारले रेल ल्याउदा आत्तिएको बताउनुभयो । कोभिड–१९ को कारण सृजित समस्याको कारण केही विकास निर्माणको कामहरुमा केही ढिलाई भएपनि त्यसलाई क्रमिक रुपमा अगाडी बढाएको उहाँले बताउनुभयो । नवलपुर केन्द्र र प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै केही दिनमा नै मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन ल्याउन लागेको उहाँले बताउनुभयो । नेकपा केन्द्रीय सदस्य किशान शर्माले नेकपा सर्वहाराको पार्टी भएको भन्दै आम सर्वहारा वर्ग नेकपामा गोलबन्द हुन आवश्यक रहेको बताउनुभयो । नेकपा गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा नवलपुर अध्यक्ष रोशन बहादुर गाहाले गण्डकी प्रदेश सरकार उज्यालो प्रदेश सहितका योजनामा काम गरिरहेको बताउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारको सहकार्यमा यस क्षेत्रमा हुने बिकास निर्माण दुवै सरकारको प्राथमिकतामा पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा आज नेपाली कांग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि नेकपा प्रवेश गर्ने तिन सय जनालाई प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्यद्वय तिलक महत र किशान शर्माले अविर लगाएर स्वागत गर्नु भएको थियो । पार्टी प्रवेश गर्नेहरुले सर्वहारा वर्गको पार्टी भित्र गोलबन्द हुन पाएको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका जिल्ला तथा प्रदेश तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेकपाको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुन्छ : सांसद महत