भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
बुधवार गाउँपालिका अध्यक्ष सहित उनकी छोरी, सवारी चालक, एक जना वडा सचिव र एक वडा सदस्यलाई कोरोना संक्रमणको पुष्टि भएसँगै गाउँपालिकामा कुल कोरोना संक्रमितको संख्या ३१ पुगेको ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद भट्टराईले जानकारी दिए । ती मध्ये १० जना महिला र २१ जना पुरुष रहेका छन् ।
कुन वडामा कति संक्रमित छन् :
वडा नम्बर १ मा ४ महिला र ८ जना पुरुष सहित कुल १२ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै वडा नम्बर २ मा ३ महिला र ४ पुरुष सहित कुल ७ जना, वडा नम्बर ३ मा २ महिला र ४ पुरुष सहित कुल ६ जना, वडा नम्बर ५ मा १ जना पुरुष, वडा नम्बर ६ मा १ महिला र ४ पुरुष सहित कुल ५ जना संक्रमित रहेका छन् । भने वडा नम्बर ४ मा हालसम्म कोरोना संक्रमण देखिएको छैन ।
कुल कोरोना संक्रमित मध्ये ३ महिला र ९ जना पुरुष सहित १२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् भने १९ जना संक्रमित उपचाररत रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिए । उपचाररत १९ संक्रमित मध्ये पनि १६ जना होम आइसोलेशनमा र ३ जना अस्पतालमा रहेको उनले बताए ।
हालसम्म गाउँपालिकामा गरिएको आरडिटी र पिसीआर परिक्षणको दायरा :
जनस्वास्थ्य अधिकृत तथा (सिआइसिटीटी) का संयोजक पिताम्बर पाठकका अनुसार गत आर्थिक वर्षमा चैत्र १२ गतेदेखि क्वारेन्टाइनमा रहेका १५६ जनाको आरडिटी नमुना चेकजाँच गरिएको थियो । जसमध्ये ७ जनाको आरडिटी पोजेटिभ देखिएको थियो । पछि आरडिटी पोजेटिभ देखिएका ७ जना सहित ४६ जनाको पिसीआर चेक गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
त्यस्तै चालु आर्थिक वर्षमा ११४ जना पुरुष र ३३ जना महिला गरी १४७ जनाको नमुना स्वाब संकलन गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको उनले बताए । जसमध्ये ४ महिला र ९ जना पुरुष गरी १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । भने ३३ जनाको रिपोर्ट आउन बाँकी छ ।
गाउँपालिका अन्तर्गत जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी र संक्रमित व्यक्तिको सम्पर्कमा आएका १४७ जनाको नमुना स्वाब संकलन गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो भने १८ जनाले रुपन्देहीका विभिन्न प्रयोगशालामा स:शुल्क कोरोना परिक्षण गराउँदा कोरोना संक्रमणको पुष्टि भएको पाठकले जानकारी दिए ।
कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिए अथवा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ठुटिपिपल माध्यमिक विद्यालय (पूर्व क्वारेन्टाइन स्थल) मा नमुना स्वाब संकलन गरिएको उनले बताए । साथै आवश्यकता अनुसार गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुमा र घुम्ती शिविर संचालन गरी स्वाब संकलन गरिने तयारी भइरहेको जानकारी दिए ।
"कतिपय व्यक्तिहरुले एउटा प्रयोगशालामा कोरोना परिक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ देखिए पुन: अर्को प्रयोगशालामा परिक्षण गराएको पाइएको छ । यसरी पटक पटक कोरोना परिक्षण गराउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।" सिआइसिटीटी संयोजक पाठकले भने ।
उनले यदि कसैमा कोरोना पोजेटिभ देखिए स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई संयमित भई बस्न अपिल समेत गरेका छन् ।