काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नु भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले ६ सय ३३ जनालाई विभूषित गर्नु भएको हो । महाउज्ज्वल राष्ट्रदीप मानपदवी बाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारी लाई मरणोपरान्त विभूषित गरिएको छ ।
यस्तै, सु–प्रसिद्ध प्रबल जनसेवा श्री बाट सात जना, प्रसिद्ध प्रबल जनसेवा श्री बाट एक जना, उज्ज्वल कीर्तिमय राष्ट्रदीप बाट एक जना, सु–कीर्तिमय राष्ट्रदीप बाट ९ र सु–प्रबल जनसेवा श्री बाट एक सय १२ जना विभूषित भएका छन्।
त्यसैगरी कम्यूनिकेशन कर्नर एवं उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं सहित पत्रकारहरु गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोविन्द प्रसाद चौलागाईं, टंक पन्त र फूलमान बल प्रबल जनसेवा श्री मानपदवी बाट विभूषित हुनु भएको छ। यस्तै, पत्रकार राजेन्द्र अर्याल, राज बहादुर गुरुङ, लक्ष्मी पुन, सूर्य बहादुर थापा क्षेत्री, हरि प्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाईँ, सुवास खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास, यज्ञप्रसाद शर्मा लगायत २ सय जना यो मानपदवी बाट विभूषित भएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णय बाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण विभूषित हुन नसकेका लाई पनि आजै सुशोभन गरिएको छ। आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ।
सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई मानपदवी बाट विभूषित गर्दै आएको छ ।