काठमाण्डौ –सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु तेज बहादुर केसी र प्रकाश कुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो ।
सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो ।
सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कट्टेलको नेकपा लाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र बिउँताइदिएको थियो । तर माओवादी केन्द्र र एमालेको माधव कुमार नेपाल पक्षले भने रिट निवेदकले नेकपाको नामको विवादमा फैसला मागे पनि सर्वोच्चले अधिकार बाहिर गएर पार्टीको एकता नै भङ्ग गरिदिएको भन्दै पुनरावलोकन गर्ने निर्णय गरेका थिए ।
अदालतको यो फैसला पछि नेकपा नाम विवादमा सर्वोच्चले फागुन २३ मा गरेको फैसला नै अन्तिम भएको छ ।