काठमाण्डौ – प्रतिनिधि सभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसद बीच आरोप–प्रत्यारोप भएको छ ।
बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् ।
शून्य समयमा टेक बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम मार्फत विघटन गरेको संसद् अदालतको आदेश पछि पुर्नस्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताउनुभयो । सांसद बल बहादुर रानाले विकास बजेट प्राथमिकताका आधारमा प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।
बैठकमा सांसद दिव्यमणि राज भण्डारीले कोभिड–१९ को जोखिम नियन्त्रण प्रभावकारी व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारी बारे सदन लाई जानकारी गराउन माग गर्नुभयो । सांसद पूर्णकुमारी सुवेदीले शान्ति सम्झौता अनुरूप बेपत्ता पारिएका नागरिकको खोजीका लागि तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो ।
सांसदद्वय बालकृष्ण खाँण र प्रकाश रसाइली ‘स्नेही’ ले बागलुङमा केही दिनअघि मात्रै कांग्रेस कार्यकर्ता माथि भएको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसद डा. डिला सङ्ग्रौला पन्तले कामविहीन भएर विदेश बाट फर्किएका नेपाली श्रमिकको पुर्नस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।
दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्रीले नै आफूमाथि गम्भीर खतरा रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य प्रकट गर्दै संसदमा प्रधानमन्त्री किन नआएको हो ? भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओली नैतिक रूपमा कमजोर भएकाले संसदमा आउने आँट नगरेको बडुले बताउनुभयो । एमालेकी सांसद शान्ता चौधरीले भने अनावश्यक विवाद निकालेर प्रधानमन्त्री लाई संसद् विघटन गर्न बाध्य गराएको आरोप लगाउनुभयो ।
पुनर्स्थापना पछि प्रतिनिधि सभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुर्नस्थापना भए पनि सरकारले बिजनेस नदिएको आरोप लाग्दै आएको छ ।