कञ्चनपुर — नेपाल आर्मीले तेस्रो सहाना प्रधान महिला राष्ट्रिय हक्की प्रतियोगिता जितेको छ । आर्मीले आइतबार महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्यो ।
आर्मीले ट्रफीसँगै ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको सुदूरपश्चिमले ट्रफीसँगै ३० हजार हात पार्यो । अन्तिम खेलअघि आर्मी र सुदूरपश्चिम दुवै अपराजित थिए । राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको अन्तिम खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी १२ अंकसाथ शीर्ष हुँदै उपाधि जितेको हो ।
अन्तिम खेलमा आर्मीका लागि निलिमा पाण्डेले ३९ औं मिनेटमा पहिलो र ३६ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई विजयी बनाएकी हुन् । उनी प्लेयर अफ द म्याचका साथै ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता भइन् । यसअघि गण्डकी प्रदेशले प्रदेश १ लाई २–० गोलले पराजित गर्यो । गण्डकीका लागि सोनु बोहराले २४ र ३६ मिनेटमा गोल गर्दै जित दिलाएकी हुन् । उनी प्लेयर अफ द म्याच घोषित भइन् ।
नेपाल हक्की संघको आयोजना तथा जिल्ला हक्की संघ कञ्चनपुरको आयोजनामा माघ २८ देखि सुरु भएको प्रतियोगितामा प्रदेश १, २, गण्डकी र सुदूरपश्चिमसँगै आर्मीसहित ५ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमकी लक्ष्मी बम भइन् । यसैगरी उत्कृष्ट गोलकिपर गण्डकीकी प्रेमा परियार, उत्कृष्ट डिफेन्डर आर्मीकी सरिता मेचे र उदीयमान खेलाडीमा सुदूरपश्चिमकी ममता भट्ट घोषित भए । उत्कृष्ट घोषित खेलाडीहरूले ५ हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पदक तथा प्रमाणपत्र र पुरस्कार प्रदान गरे ।साभार: कान्तिपुर