नवलपुरः
स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा सञ्चालित निशुल्क स्थायी बन्ध्याकरण शिविरमा शुक्रवार ७ जनाले सेवा लिएका छन् । मध्यबिन्दु जिल्ला अस्पतालमा चलेको शुक्रवारको शिविरमा ५ जना पुरुषले भ्यासेक्टोमी र २ जना महिलाले मिनील्याप सेवा लिएका हुन् । बिहीवारको शिविरमा जिल्ला अस्पतालमा १४ जनाले सेवा लिएका थिए ।
जिल्लाका स्थानीय तहहरुको समन्वय र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स नेपाल) काठमाण्डौंको प्राविधिक सहयोगमा सञ्चालित शिविर शनिवार पनि जिल्ला अस्पतालमा नै रहने स्वास्थ्य कार्यालय नवलपुर परिवार नियोजन निरीक्षक (सुपरभाईजर) बीरबहादुर श्रेष्ठले जानकारी दिए ।
बुधवार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र देबचुलीबाट शुरु भएको शिविर माघ २९ गतेसम्म चल्नेछ । शिविर जिल्लाका आठवटै पालिकामा सञ्चालनमा आउनेछ । शिविर चलेको ३ दिनसम्ममा २७ जना पुरुष र १७ जना महिला गरी ४४ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।