प्रतिनिधि सभा विघटनविरूद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सर्वोच्च अदालत जाने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेका थिए।
उक्त निर्णय असंवैधानिक भएको भन्दै विरोध भइरहेको छ।
नेकपा सांसदहरू सोमबार दिउँसो २ बजे सर्वोच्च अदालत जान लागेका हुन्।
नेकपा सांसद रामकुमारी झाँक्रीले सेतोपाटीलाई दिएको जानकारीअनुसार अहिले सांसदहरूको हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको छ।
‘प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दा हाल्न हामी सर्वोच्च जाँदैछौं। अहिले हस्ताक्षर संकलन भइरहेको छ,’ उनले भनिन्।
संसद विघटनविरूद्ध अहिलेसम्म ८ वटा रिट पेश भइसकेका छन्।