४ चैत्र, बाँके । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् ।
बर्दियामा मंग्लवार बाघको आक्रमणले फेरि एक जना महिलाको ज्यान गए संगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही दिन यता पाटे बाघको आक्रमणबाट मानिस लगायत अन्य वन्यजन्तुको ज्यान गुमाउनेको संख्या बढदै गएको छ । निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भैरहेका पर्यटकीय गतिविधिहरुमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको छ ।
यस्तै पर्यटकीय गतिविधि अन्तर्गत जङ्गल ड्राइभ गर्नेहरुले विशेष सावधानी अपनाउन समेत निकुञ्जले आग्रह गरेको छ । मंग्लवार निउरोको साग टिप्न गएकी तीन जना महिला मध्ये बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० पुगिसकेको निकुञ्जको तथ्यांक छ ।