भैरहवा । "कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता" भन्ने मुल नाराका साथ रुपन्देहीको ओमसतिया गाउँपालिकामा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
ओमसतिया गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्ति र सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट (राहुल)ले अपाङ्गताको क्षेत्रमा आफुले सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले सामान्य व्यक्तिहरुको तुलनामा अझ धेरै सुविधा पाउनुपर्ने अपाङ्ग समाजको मागलाई आफुले सम्बोधन गर्न ठुलो प्रयत्न गरिरहेको बताउनुभयो । साथै समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेरिने दृष्टिकोण सकारात्मक बनाउन अबका दिनमा हरेक सचेत वर्गले त्यस्ता व्यक्तिलाई सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै कार्यपालिका सदस्य चुमकला बस्याल, पत्रकार सरु राना, समाजसेवी श्यामसुन्दर चौधरी, वडा नं १ का वडा अध्यक्ष बेल बहादुर बराल लगायतले मन्तव्य राख्दै अपाङ्गता सम्बन्धी कार्यक्रम समुदाय स्तरमा गर्ने कार्ययोजना बनाई अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधाहरु वास्तविक अपाङ्गता भएका व्यक्ति माँझ पुर्याउन सरोकारवालाले अनुगमन गर्न अत्यावश्यक रहेको बताउनुभयो ।
ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरतमति कुमारी हरिजनको अध्यक्षता, प्रशासकीय अधिकृत दुर्गा पौडेलको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रम स्वास्थ्य शाखाका माधव पौडेलको स्वागत मन्तब्य एवं महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो भने अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र रुपन्देहीका जिल्ला सुपरिवेक्षक दिप न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
